पाल्पाको लाखे नाच पोखरामा देखाइने
पाेखरा | साउन २५, २०८२
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ ।
पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले दोस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए ।
साँझ ६ देखि १२ बजेसम्म उक्त नाच प्रस्तुत हुनेछ । दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिनेछ ।
पाल्पा रिब्दीकोट गाउँपालिकास्थित भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाचका लागि कलाकार टोली बाजागाजासहित यहाँ आउने छ । गत वर्ष पोखरामा उक्त नाच हेर्नेको ठूलो भीड लागेको थियो । भीमसेन गुठी भैरवस्थानले यसअघि पोखरासहित काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच प्रस्तुत गरिसकेको छ ।
पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।
कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका छन् ।
पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ ।
उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए ।
५०० वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा अन्य ठाउँको तुलनामा बाजाको ताल, नाच्ने कला फरक छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

